Aug 13 2026 | २०८३, श्रावण २८ गते

यूजीसी अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ, विश्वविद्यालय सुधारलाई प्राथमिकता

यूजीसी अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ, विश्वविद्यालय सुधारलाई प्राथमिकता

  • 178
    SHARES

  • यूजीसी अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ, विश्वविद्यालय सुधारलाई प्राथमिकता

    काठमाडौं, २१ साउन । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) का नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसी र सचिव प्रा. डा. रोजी श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेलले बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले आयोगकी नवनियुक्त सचिव श्रेष्ठलाई शपथ गराउनुभयो ।

    शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न नवनियुक्त पदाधिकारीलाई आग्रह गर्नुभयो । विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

    नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सचिव श्रेष्ठले पनि आफ्नो कार्यकालमा यूजीसीलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षा सुधारका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताउनुभयो ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यूजीसीको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो । प्रा. डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुनुहुन्छ । तत्कालीन उपकुलपति प्रा. डा. केसरजंग बरालले राजीनामा दिएपछि उहाँले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो ।

    अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित केसीले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) गर्नुभएको छ । उहाँ तीन दशकभन्दा बढी समयदेखि अध्यापन, अनुसन्धान तथा शैक्षिक नेतृत्वमा सक्रिय हुनुहुन्छ ।

    त्यस्तै, यूजीसीकी नवनियुक्त सचिव प्रा. डा. रोजी श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नर्सिङमा विद्यावारिधि हासिल गर्नुभएको हो ।

    नर्सिङ अनुसन्धानमा उल्लेखनीय योगदान पुर्‍याएबापत श्रेष्ठ ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित हुनुभएको थियो । नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा उहाँलाई दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्रदान गरिएको थियो ।

    images
    बिहिवार, श्रावण २१ २०८३०७:३०:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार