शुक्रवार, श्रावण २२ २०८३
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शैक्षिक सत्र २०८३/०८४ का लागि स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना गर्न एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयले B.Sc. Ag., B.V.Sc. & A.H., B.Sc. Fisheries र B.Sc. Forestry कार्यक्रममा भर्नाका लागि अनलाइन आवेदन खुलाएको हो।
विश्वविद्यालयका अनुसार इच्छुक नेपाली तथा विदेशी विद्यार्थीले साउन २१ गतेदेखि भदौ १७ गते राति १२ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन्। सबै कार्यक्रमका लागि एउटै आवेदन फाराम भर्नुपर्नेछ र एकीकृत प्रवेश परीक्षाको प्राप्ताङ्कका आधारमा मेरिट सूची तयार गरी विद्यार्थी भर्ना गरिनेछ।
प्रवेश परीक्षा भदौ २० गते शनिबार बिहान ९ बजे सञ्चालन हुनेछ। परीक्षा रामपुर (चितवन), हेटौंडा, काठमाडौं, जनकपुर, इटहरी र नेपालगञ्जमा सञ्चालन गरिनेछ। आवेदकले आवेदनका क्रममा छनोट गरेको परीक्षा केन्द्र परिवर्तन गर्न नपाइने विश्वविद्यालयले जनाएको छ।
प्रवेश परीक्षामा १२० वटा बहुविकल्पीय वस्तुगत प्रश्न सोधिनेछन्। अंग्रेजी, रसायनशास्त्र र वनस्पतिशास्त्रबाट २२–२२, प्राणीशास्त्रबाट २२, भौतिकशास्त्र र गणितबाट १२–१२ तथा सामान्य ज्ञानबाट ८ प्रश्न रहनेछन्। परीक्षाको अवधि १ घण्टा ३० मिनेट हुनेछ। B.Sc. Ag., B.Sc. Fisheries र B.Sc. Forestry लगायतका कार्यक्रममा आवेदन दिन कम्तीमा ४० प्रतिशत वा C (२.००) CGPA आवश्यक पर्नेछ। B.V.Sc. & A.H. कार्यक्रममा भने कम्तीमा ५० प्रतिशत वा C+ (२.४०) CGPA हुनुपर्नेछ। आवेदन शुल्क रु. ३ हजार तोकिएको छ।
आवेदनका क्रममा विद्यार्थीले फोटो, हस्ताक्षर, नागरिकता वा राष्ट्रिय परिचयपत्र/जन्मदर्ता, SEE/SLC तथा कक्षा १२ वा प्रमाणपत्र तहको ग्रेडसिट र प्रमाणपत्रलगायत आवश्यक कागजात अनलाइन अपलोड गर्नुपर्नेछ। आरक्षित कोटामा आवेदन दिने विद्यार्थीले सम्बन्धित प्रमाणपत्र वा सिफारिसपत्रसमेत पेश गर्नुपर्नेछ।
प्रवेशपत्र भदौ १९ गते बिहान ९ बजेदेखि अनलाइन पोर्टलबाट डाउनलोड गरी रङ्गीन प्रिन्ट गर्नुपर्नेछ। प्रवेश परीक्षा दिन जाँदा प्रवेशपत्रसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा राहदानीमध्ये कुनै एकको सक्कल परिचयपत्र अनिवार्य रूपमा लैजानुपर्नेछ।
प्रवेश परीक्षाको प्राप्ताङ्कलाई नै १०० प्रतिशत भार दिई योग्यताक्रम (मेरिट) सूची तयार गरिनेछ। विश्वविद्यालयले भदौ २० गते नै नतिजा प्रकाशन गर्ने र मेरिटका आधारमा भदौ २४ गतेदेखि भदौ मसान्तसम्म विद्यार्थी भर्ना गर्ने जनाएको छ।
आवेदन आवेदन admission.afu.edu.np मार्फत दिन सकिनेछ। प्रवेश परीक्षा, नतिजा तथा भर्नासम्बन्धी थप विवरण कृषि तथा वन विज्ञान विश्वविद्यालय मा हेर्न सकिनेछ।