Aug 12 2026 | २०८३, श्रावण २७ गते

त्रिवि हाँक्न सजिलो छैन, गृहकार्य गरेर मात्रै बोल्न प्रा.डा. वाग्लेको उपकुलपति थापालाई सुझाव

त्रिवि हाँक्न सजिलो छैन, गृहकार्य गरेर मात्रै बोल्न प्रा.डा. वाग्लेको उपकुलपति थापालाई सुझाव

  • 181
    SHARES

  • त्रिवि हाँक्न सजिलो छैन, गृहकार्य गरेर मात्रै बोल्न प्रा.डा. वाग्लेको उपकुलपति थापालाई सुझाव

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) हाँक्नु सहज काम नभएको भन्दै प्रा.डा. मनप्रसाद वाग्लेले उपकुलपति प्रा.डा. थापालाई विश्वविद्यालयको वास्तविक अवस्था अध्ययन गरेर मात्रै धारणा सार्वजनिक गर्न सुझाव दिएका छन्।

    त्रिविको स्थिति राम्ररी अध्ययन नगरी यसबारे बोल्दा धारणा केही कच्चो देखिन सक्ने उनको भनाइ छ। अझ त्रिविसँग लामो समयदेखि सम्पर्कमा नरहेका र विद्यार्थी जीवनमा मात्रै त्रिविको अनुभव लिएका व्यक्तिका लागि यसको व्यवस्थापन ‘फलामको च्यूरा’ सरह हुने उनले बताएका छन्।

    त्रिविको नेतृत्वमा रहने व्यक्तिले जिम्मेवारी सम्हालेपछि पहिलो दुई–तीन महिना विश्वविद्यालयका दिग्गज प्राध्यापक, उच्च तहका प्रशासनिक कर्मचारी तथा त्रिविको हित चाहने विद्यार्थी प्रतिनिधिसँग विभिन्न आयाममा छलफल गर्नुपर्ने उनको सुझाव छ। त्यसपछि मात्रै विश्वविद्यालयको वास्तविक अवस्था बुझेर धारणा र सुधारका प्राथमिकता तय गर्न सकिने उनले बताएका छन्।

    विगतका केही उपकुलपतिले पीएसओ लिएरै हिँड्नुपरेको यथार्थलाई समेत बेवास्ता गर्न नहुने उनको भनाइ छ। यसले त्रिविको नेतृत्व र व्यवस्थापन कति चुनौतीपूर्ण छ भन्ने देखाउने उनले उल्लेख गरेका छन्। हालै त्रिविका उपकुलपतिले नियमित र आंशिक विद्यार्थीका विषयमा दिएको मन्तव्य विवादमा परेको प्रसंग उठाउँदै प्रा.डा. वाग्लेले उक्त अभिव्यक्ति पर्याप्त गृहकार्यको अभावमा आएको आफ्नो ठहर रहेको बताएका छन्। उनले वर्तमान उपकुलपतिलाई अध्ययन र छलफल गरेर मात्रै सञ्चारमाध्यममा धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।

    ‘आंशिक विद्यार्थीलाई त्रिविको ढोका खुला गर्नु हुँदैन’ भन्ने तर्क सुन्दा ठीक लाग्न सक्छ

    आंशिक विद्यार्थीलाई त्रिविमा अध्ययनको अवसर दिन नहुने प्रश्न एक प्रकारले सुन्दा ठीकै लाग्न सक्ने भए पनि अहिलेको विश्वव्यापी उच्च शिक्षा प्रणालीलाई समेत हेर्नुपर्ने वाग्लेको तर्क छ। कोभिड–१९ पछि विश्वका विश्वविद्यालयहरू ब्लेन्डेड मोडमा गइसकेको तथ्य उपकुलपतिलाई थाहा नभएको भन्न नसकिने उनले बताएका छन्।

    अर्कोतर्फ सरकारी विश्वविद्यालय भए पनि नेपाल खुला विश्वविद्यालयको अध्ययन महँगो रहेको उनको भनाइ छ। जसका कारण जोकोही विद्यार्थीलाई त्यहाँ भर्ना हुन सहज नभएको उनले उल्लेख गरेका छन्। विश्वविद्यालय स्थापना भएको एक दशक पुग्न लाग्दासमेत विद्यार्थी संख्या करिब दुई हजार पनि नपुगेको अवस्थाले पनि यसको पहुँचबारे प्रश्न उठाउने उनले बताएका छन्।

    वाग्लेका अनुसार त्रिवि यस्तो विश्वविद्यालय हो, जहाँ विभिन्न आर्थिक हैसियत भएका विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने अवसर पाउँछन्। त्यसैले त्रिविलाई ब्लेन्डेड मोडमा सञ्चालन गरेर देशका अधिकांश विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गर्ने दिशामा अघि बढ्नुपर्ने उनको सुझाव छ।

    उनले University of the Philippines अन्तर्गत University of the Philippines Open University सञ्चालनमा रहेको उदाहरणसमेत दिएका छन्।

    ‘युनिभर्सिटी अफ फिलिपिन्सभित्रै युनिभर्सिटी अफ फिलिपिन्स ओपन युनिभर्सिटी सञ्चालनमा छ। त्यही मोडल त्रिविका लागि पनि उपयुक्त हुन सक्छ,’ वाग्लेले भनेका छन्।

    त्रिविले समयअनुकूल शिक्षण प्रणाली विकास गर्दै ब्लेन्डेड मोडललाई संस्थागत गर्न सके आर्थिक तथा भौगोलिक कारणले नियमित कक्षामा उपस्थित हुन नसक्ने ठूलो संख्याका विद्यार्थीलाई उच्च शिक्षाको मूलधारमा जोड्न सकिने उनको धारणा छ।

    images
    मंगलवार, श्रावण २६ २०८३०८:३८:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार