शुक्रवार, श्रावण २९ २०८३
काठमाडौं । विद्यार्थीको सिकाइ प्रक्रियामा कृत्रिम बौद्धिकता (एआई) लगायत प्रविधि तथा बाह्य स्रोतप्रतिको बढ्दो निर्भरता, त्यसले सिकाइमा पारिरहेको प्रभाव र विद्यार्थीको सक्रिय सहभागिता सुनिश्चित गर्ने उपायबारे Educational Development Initiative Nepal (इडिन) ले शैक्षिक संवाद आयोजना गरेको छ।
इडिनद्वारा आयोजित ‘एडुडाइलग ४.०’ मा ‘सिकाइमा बाह्य निर्भरताको बढ्दो प्रभाव’ विषयमा शिक्षा क्षेत्रका सरोकारवालाबीच गहन छलफल भएको हो। कार्यक्रममा विद्यालयका निर्देशक, अध्यक्ष, प्रधानाध्यापक तथा संयोजकहरूको सहभागिता थियो।

कार्यक्रमको प्रारम्भमा इडिनका निर्देशक हिक्मत दाहालले अवधारणा पत्र प्रस्तुत गरेका थिए। उनले ‘एडुडाइलग ४.०’ को अवधारणागत पृष्ठभूमि, उद्देश्य तथा वर्तमान शिक्षण–सिकाइ प्रक्रियामा देखिँदै गएको बाह्य निर्भरता र प्रविधिको प्रभावबारे विस्तृत रूपमा प्रकाश पारेका थिए। उनले विशेषगरी एआई र डिजिटल स्रोतहरूको सहज पहुँचले विद्यार्थीको सिकाइ शैलीमा ल्याएको परिवर्तन र त्यसले सिर्जना गरेका अवसर तथा चुनौतीहरूलाई अवधारणा पत्रमार्फत प्रस्तुत गरेका थिए।
दाहालले अवधारणा पत्रमार्फत विद्यालय नेतृत्व, शिक्षक र नीति निर्माताहरूले सिकाइ प्रक्रियामा देखिएको परिवर्तनलाई गहिरो रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनले प्रविधिको प्रयोगलाई व्यवस्थित र उद्देश्यपूर्ण बनाउन नसकिएमा विद्यार्थीको स्वायत्त सिकाइ क्षमतामा असर पर्न सक्ने भन्दै यस विषयमा सामूहिक विमर्श आवश्यक रहेको सन्दर्भ पनि प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख सहजकर्ता तथा युलेन्स एजुकेसन सेन्टरका प्रमुख शैक्षिक निर्देशक मेदिन लामिछानेले सिकाइमा बढ्दो बाह्य निर्भरता र विद्यार्थीको घट्दो सक्रियताका विभिन्न पक्षबारे प्रस्तुति दिएका थिए। उनले प्रविधि र एआई आफैँ समस्या नभए पनि विद्यार्थीको सोच्ने, खोज्ने, विश्लेषण गर्ने र आफ्नै प्रयासबाट सिक्ने क्षमतालाई विस्थापित गर्ने गरी यसको प्रयोग हुन नहुनेमा जोड दिए।
उनका अनुसार विद्यार्थी कक्षाकोठामा शारीरिक रूपमा उपस्थित भए पनि सिकाइ प्रक्रियामा मनोवैज्ञानिक र बौद्धिक रूपमा अनुपस्थित हुन सक्छन्। काम पूरा गरे पनि यान्त्रिक रूपमा गर्ने, छलफलमा सहभागी नहुने, जिज्ञासा नदेखाउने, मौन रहने तथा बाह्य पुरस्कार र दण्डमा निर्भर भएर मात्र सिकाइमा संलग्न हुने प्रवृत्ति विद्यार्थीमा देखिन सक्ने उनले बताए।

लामिछानेले विद्यार्थीको निष्क्रियतालाई केवल अल्छीपन वा अनुशासनको समस्याका रूपमा बुझ्न नहुने धारणा राखे। विद्यार्थी सिकाइबाट टाढिनुका पछाडि सिकाइको विषयवस्तु अर्थपूर्ण र जीवनसँग सान्दर्भिक नहुनु, आफ्ना विचार तथा छनोटको अवसर नपाउनु, बारम्बार असफलताको अनुभव गर्नु तथा शिक्षक र सहपाठीसँग पर्याप्त सम्बन्ध स्थापित गर्न नसक्नुलगायतका कारण हुन सक्ने उनले बताए।
‘विद्यार्थीलाई कसरी पढाउने?’ भन्दा ‘विद्यार्थी किन सिक्न चाहँदैन?’ भन्ने प्रश्नमा विद्यालय नेतृत्वले ध्यान दिनुपर्छ,’ लामिछानेले भने। विद्यार्थीको ध्यान नियन्त्रण गर्नेभन्दा उनीहरूलाई ध्यान दिन, सोच्न र सक्रिय रूपमा सहभागी हुन प्रेरित गर्ने किसिमको सिकाइ वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

उनले विद्यालयले विद्यार्थीमा अपनत्वको भावना विकास गर्ने, शिक्षकलाई प्रभावकारी र रुचिकर शिक्षण विधि अपनाउन सहयोग गर्ने, शिक्षक–विद्यार्थी सम्बन्ध बलियो बनाउने तथा विद्यार्थीसम्बन्धी तथ्याङ्कलाई दण्डका लागि नभई समस्या पहिचान र समाधानका लागि प्रयोग गर्नुपर्ने सुझाव दिए।
कार्यक्रममा विद्यार्थीको व्यवहारलाई बुझ्न पहिचान गर्ने, कारण खोज्ने, दृष्टिकोण परिवर्तन गर्ने र कार्य गर्ने चार चरणको अवधारणासमेत प्रस्तुत गरिएको थियो। विद्यार्थीले देखाएको व्यवहारलाई पहिला पहिचान गर्ने, त्यसको भित्री कारण खोज्ने, समस्यालाई फरक दृष्टिकोणबाट हेर्ने र सुधारका लागि विद्यालय नेतृत्वले फरक ढङ्गले काम गर्ने अवधारणा अघि सारिएको हो।

प्रमुख वक्ता लामिछानेको प्रस्तुति तथा संवादपछि कार्यक्रमबारे छोटो मन्तव्य राख्दै इडिनका निर्देशक मनोज श्रेष्ठले अहिलेको शिक्षामा प्रविधि र एआईको प्रयोग अपरिहार्य बन्दै गए पनि त्यसले विद्यार्थीको मौलिक सोच, सिर्जनशीलता र सिक्ने क्षमतालाई कमजोर बनाउन नहुने बताए। उनले प्रविधिलाई शिक्षक र विद्यार्थीको विकल्पका रूपमा नभई सिकाइलाई थप प्रभावकारी बनाउने साधनका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै विद्यालयले प्रविधिको प्रयोगसँगै विद्यार्थीमा प्रश्न गर्ने, खोज्ने, विश्लेषण गर्ने र आफ्नै निष्कर्षमा पुग्ने संस्कार विकास गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा विद्यार्थीको सिकाइमा बाह्य निर्भरता बढ्दै जाँदा शिक्षक तथा विद्यालय नेतृत्वको भूमिका अझ महत्वपूर्ण हुने विषयमा सहभागीबीच अन्तरक्रिया भएको थियो। एआई तथा अन्य प्रविधिको सहज उपलब्धताले विद्यार्थीलाई तत्काल उत्तर दिने सुविधा उपलब्ध गराए पनि त्यसलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा विद्यालयले स्पष्ट शैक्षिक दृष्टिकोण बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रमको अन्त्यमा इडिनका निर्देशक नेत्रप्रसाद न्यौपानेले कार्यक्रमको निष्कर्ष प्रस्तुत गर्दै प्रविधि र एआईलाई सिकाइको विकल्प नभई सहयोगी साधनका रूपमा प्रयोग गर्नुपर्ने बताए। विद्यार्थीको सिकाइमा बाह्य निर्भरता बढ्न नदिन विद्यालयले सोच्ने, प्रश्न गर्ने, सिर्जना गर्ने र आफ्नै प्रयासबाट सिक्ने वातावरण निर्माण गर्नुपर्ने निष्कर्ष प्रस्तुत गर्दै उनले विद्यार्थीलाई नियन्त्रण गरेर सहभागी गराउनेभन्दा सिकाइप्रति स्वाभाविक रूपमा आकर्षित हुने वातावरण निर्माण गर्नु नै विद्यालय नेतृत्वको प्रमुख जिम्मेवारी भएको बताए।
स्वयम्भूस्थित क्वालिटी दरबारमा आयोजित कार्यक्रममा जयाराम चापागाईंले स्वागत तथा परिचय, हिक्मत दाहालले आचारसंहिता तथा सन्दर्भ प्रस्तुति र मेदिन लामिछानेले मुख्य सत्र तथा प्रतिबिम्ब एवं संवादको सहजीकरण गरेका थिए। कार्यक्रमको समन्वय हिक्मत दाहालले गरेका थिए ।
