Aug 14 2026 | २०८३, श्रावण २९ गते

नेपालमा सडक बालबालिका, गिरोह तथा संगठित अपराधबारे सरोकारवालाबीच संवाद

नेपालमा सडक बालबालिका, गिरोह तथा संगठित अपराधबारे सरोकारवालाबीच संवाद

  • 90
    SHARES

  • नेपालमा सडक बालबालिका, गिरोह तथा संगठित अपराधबारे सरोकारवालाबीच संवाद

    सुर्खेत, २८ साउन। मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ लको आयोजनामा ‘नेपालमा सडक बालबालिका, गिरोह तथा संगठित अपराध’ विषयक अध्ययनका निष्कर्ष प्रस्तुति तथा सरोकारवाला संवाद कार्यक्रम सम्पन्न भएको छ।

    वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा विश्वविद्यालयका उपकुलपति सह–प्रा. ई. डा. राजन सुवालको प्रमुख आतिथ्यता तथा ग्र्याजुएट स्कुल अफ लका डिन सह–प्रा. डा. पूर्णमान श्रेष्ठको अध्यक्षता रहेको थियो।

    कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी तथा प्राध्यापक, जिल्ला अदालत सुर्खेतका न्यायाधीश, न्यायिक तथा कानुनी क्षेत्रका प्रतिनिधि, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्था, बालबालिका तथा सामाजिक क्षेत्रमा कार्यरत सरोकारवाला, अनुसन्धानकर्ता लगायतको सहभागिता थियो।

    FB_IMG_1786685307394.jpg

    कार्यक्रममा अध्ययनका प्रमुख अनुसन्धानकर्ता बेलायतस्थित युनिभर्सिटी अफ वेस्टमिन्स्टरकी प्राध्यापक डा. स्याली एट्किन्सन–शेपर्डले अनलाइन माध्यमबाट अध्ययनका प्रमुख निष्कर्ष प्रस्तुत गरिन्। उनले नेपालमा सडक बालबालिका, गिरोह तथा संगठित अपराधसँग सम्बन्धित अवस्था, देखिएका प्रवृत्ति तथा सरोकारवाला निकायका लागि अध्ययनको सम्भावित प्रभावबारे प्रस्तुति दिइन्।

    अनुसन्धान टोलीका सदस्य प्रा. डा. गोविन्द सुवेदीले अध्ययनका निष्कर्षलाई नेपालको सामाजिक, शैक्षिक, कानुनी तथा नीतिगत सन्दर्भसँग जोड्दै विश्लेषण प्रस्तुत गरे।

    त्यसैगरी, कर्णाली प्रदेश प्रहरी कार्यालयको तर्फबाट हाल प्रदेश ट्राफिक कार्यालय प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजाल, मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार सह–प्राध्यापक डा. अर्जुनबहादुर अयडी तथा सुर्खेत जिल्ला अदालतका जिल्ला न्यायाधीश दीपक ढकालले अध्ययनमाथि समीक्षात्मक प्रस्तुति दिए।

    समीक्षा सत्रमा अध्ययनका निष्कर्षलाई सुरक्षा, संस्थागत तथा न्यायिक दृष्टिकोणबाट विश्लेषण गर्दै यसको व्यावहारिक तथा नीतिगत महत्त्वबारे धारणा राखिएको थियो। खुला छलफलमा सहभागीहरूले सडक बालबालिकाको अवस्था, बाल संरक्षण, गिरोह तथा संगठित अपराधका चुनौती, संस्थागत प्रतिक्रिया तथा कानुनी र नीतिगत पक्षबारे प्रश्न, अनुभव तथा सुझाव प्रस्तुत गरेका थिए।

    कार्यक्रममा उपकुलपति सह–प्रा. ई. डा. राजन सुवालले अनुसन्धान, ज्ञान निर्माण तथा प्रमाणमा आधारित नीतिनिर्माणका लागि यस्ता संवादको महत्त्वपूर्ण भूमिका रहने बताए। विश्वविद्यालय, अनुसन्धानकर्ता, सरकारी निकाय तथा अन्य सरोकारवालाबीचको सहकार्य र संवादले सामाजिक समस्याको अध्ययन तथा समाधानमा योगदान पुर्‍याउने उनको भनाइ थियो।

    ग्र्याजुएट स्कुल अफ लका डिन सह–प्रा. डा. पूर्णमान श्रेष्ठले अनुसन्धान तथा छलफलबाट प्राप्त निष्कर्ष र सुझावलाई आगामी अध्ययन, अनुसन्धान तथा नीतिगत बहसमा उपयोग गर्नुपर्नेमा जोड दिँदै कार्यक्रमको समापन गरे। कार्यक्रमको सञ्चालन ग्र्याजुएट स्कुल अफ लका कार्यक्रम निर्देशक तथा अध्ययन टोलीका सदस्य सह–प्राध्यापक विनयकुमार झाले गरेका थिए।

    कार्यक्रमले सडक बालबालिका, गिरोह तथा संगठित अपराधसँग सम्बन्धित अध्ययनका निष्कर्ष सरोकारवालासमक्ष पुर्‍याउनुका साथै अनुसन्धान, नीति तथा संस्थागत अभ्यासबीच संवाद र सहकार्यको आधार निर्माण गरेको आयोजकले जनाएको छ।

    images
    शुक्रवार, श्रावण २९ २०८३११:१६:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार