मंगलवार, भाद्र ९ २०८३
काठमाडौँ, ९ भदौ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायअन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तहका विभिन्न कार्यक्रमका शोधपत्रमा कृत्रिम बौद्धिकता (AI) को प्रयोगसम्बन्धी सीमा निर्धारण गरिएको छ। शिक्षाशास्त्र संकायले सूचना जारी गर्दै स्नातकोत्तर तहका शोधपत्रको Plagiarism परीक्षणमा Similarity Index र AI प्रयोगको Threshold २० प्रतिशतसम्म मात्र स्वीकार गर्न सकिने जनाएको हो। २० प्रतिशतभन्दा बढी समानता वा AI प्रयोग देखिएमा शोधपत्र स्वीकार्य नहुने गरी परीक्षणलाई कडाइ गरिएको छ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को २०८२ साल श्रावण २२ गतेको निर्णय नं. ५२ र २०८२ साल भदौ १३ गतेको निर्णय नं. १०२ अनुसार विश्वविद्यालयले प्रयोग गर्दै आएको Turnitin कम्पनीको iThenticate प्रणाली मार्फत शोधपत्रको Plagiarism परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। शोधपत्रमा मौलिकता कायम गर्न, साहित्यिक चोरीलाई निरुत्साहित गर्न तथा अध्ययन–अनुसन्धान कार्यलाई व्यवस्थित र मर्यादित बनाउन उक्त व्यवस्था गरिएको संकायले जनाएको छ।
संकायका अनुसार सम्बन्धित क्याम्पस वा विभागले विद्यार्थीको शोधपत्र डीन कार्यालयमा बुझाउनुअघि Plagiarism परीक्षण गर्नुपर्नेछ। परीक्षणपछि प्राप्त Similarity Index तथा AI प्रयोगसम्बन्धी आधिकारिक प्रतिवेदन शोधपत्रमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी उक्त प्रतिवेदनको Soft Copy समेत शिक्षाशास्त्र संकायको डीन कार्यालयमा पठाउन सम्बन्धित क्याम्पस तथा विभागलाई निर्देशन दिइएको छ।
संकायले शोधपत्र परीक्षणका लागि अपनाउनुपर्ने कार्यविधि पनि सार्वजनिक गरेको छ। नयाँ व्यवस्थाले स्नातकोत्तर तहमा हुने अनुसन्धानलाई थप मौलिक, विश्वसनीय र अनुसन्धानको अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने अपेक्षा गरिएको छ।
