शनिवार, भाद्र १३ २०८३
काठमाडौं । रसुवागढी भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि त्रिभुवन विश्वविद्यालयका शिक्षक, कर्मचारी तथा पदाधिकारीले तलबबाट सहयोग गर्ने भएका छन्।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को २०८३ साल भदौ १२ गते बसेको बैठकले विश्वविद्यालयअन्तर्गत विभिन्न निकायमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार कुलपतिबाट नियुक्त पदाधिकारीको एक महिनाको पारिश्रमिक योगदान गरिनेछ। प्राध्यापक तथा प्रशासक, सहप्राध्यापक तथा सहप्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम कट्टा गरिनेछ। त्यस्तै, उपप्राध्यापक तथा उपप्रशासक, शाखा अधिकृत तथा प्रशिक्षक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट ७ दिनको, मुख्य कार्यालय सहायक तथा कार्यालय सहायक वा सोसरहका कर्मचारीबाट ५ दिनको र श्रेणीविहीन कर्मचारीबाट २ दिन बराबरको पारिश्रमिक कट्टा गरिने विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयका अनुसार २०८३ साल भदौ महिनाको तलब भुक्तानी गर्दा उक्त रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिनेछ। यसका लागि आर्थिक प्रशासन महाशाखामार्फत आवश्यक व्यवस्था मिलाइनेछ।
भदौ १० गते रसुवा जिल्लाको रसुवागढी भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो।
विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले विश्वविद्यालयले पदाधिकारी, शिक्षक तथा कर्मचारीको तलबबाट सहयोग गर्ने निर्णय गरेको हो।
