सोमवार, भाद्र १५ २०८३
काठमाडौं । प्राकृतिक विपद्का कारण स्थगित भएका इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.सं.) अन्तर्गतका विभिन्न तहका परीक्षा भदौ २२ गतेदेखि सञ्चालन हुने भएका छन्।
परीक्षा नियन्त्रण महाशाखाले सूचना जारी गर्दै २०८३ साउनदेखि सञ्चालनमा रहेका स्नातक तहका पुरानो पाठ्यक्रमअन्तर्गतका सबै कार्यक्रम (Batch Out) तथा अन्तिम सेमेस्टरको पुनः परीक्षा भदौ १३ गतेदेखि स्थगित गरिएको जनाएको छ।
त्यस्तै, भदौ १६ गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेको स्नातक तहका सबै कार्यक्रमअन्तर्गत प्रथम, दोस्रो र तेस्रो वर्ष दोस्रो खण्डका नयाँ पाठ्यक्रम तथा चौथो र पाँचौँ वर्ष प्रथम खण्डका पुरानो पाठ्यक्रमका नियमित परीक्षासमेत स्थगित गरिएको थियो।
इन्जिनियरिङ अध्ययन संस्थानको भदौ १५ गतेको निर्णयअनुसार स्थगित गरिएका उक्त परीक्षाहरू भदौ २२ गतेदेखि संशोधित परीक्षा तालिकाअनुसार सञ्चालन गरिने परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाले सम्बन्धित सबै परीक्षार्थीलाई संशोधित परीक्षा तालिकाअनुसार परीक्षामा सहभागी हुन आग्रह गरेको छ।
यस्तै, स्नातकोत्तर प्रथम वर्ष प्रथम खण्ड र दोस्रो वर्ष प्रथम खण्डको परीक्षा भने यसअघि प्रकाशित पूर्व तालिकाअनुसार नै सञ्चालन हुने सूचनामा उल्लेख छ।
परीक्षा नियन्त्रण महाशाखाकी निमित्त प्रमुख रीना देवी बज्राचार्यले जारी गरेको सूचनामा परीक्षा केन्द्र निर्धारण भएका इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका सबै क्याम्पस तथा कलेजलाई आवश्यक कार्यान्वयनका लागि जानकारी गराइएको छ।
