शनिवार, आश्विन १० २०८३
काठमाडौं– परीक्षा स्थगित भएको भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट भ्रामक सूचना फैलिएपछि त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) डीनको कार्यालयले स्पष्टीकरण जारी गरेको छ।
आईओएसटीले निर्धारित परीक्षा कार्यक्रमअनुसार नै परीक्षा सञ्चालन हुने स्पष्ट पारेको हो। परीक्षा स्थगित भएको भन्ने सूचना आधिकारिक नभएको भन्दै कार्यालयले विद्यार्थीलाई त्यस्ता भ्रामक सूचनाको पछि नलाग्न आग्रह गरेको छ।
डीनको कार्यालयले परीक्षा सम्बन्धी आधिकारिक सूचना आईओएसटीबाट प्रकाशित हुने भएकाले आधिकारिक माध्यमबाट प्राप्त सूचनालाई मात्र आधार मान्न विद्यार्थीलाई अनुरोध गरेको छ।
यससँगै परीक्षा स्थगित भएको हल्लाका कारण अन्योलमा परेका विद्यार्थीलाई निर्धारित मिति, समय र केन्द्रअनुसार परीक्षामा सहभागी हुन कार्यालयले स्पष्ट पारेको छ।
