मंगलवार, आश्विन १३ २०८३
काठमाडौं । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमबारे हुने सार्वजनिक बहस तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) ले जनाएको छ।
पत्रकार सम्मेलनमार्फत आइप्यानले संस्थाको वैधानिकता वा शैक्षिक गुणस्तरमाथि प्रश्न उठाउँदा सम्बन्धित संस्था तथा कार्यक्रमको स्वीकृति, विश्वविद्यालयको एक्रेडिटेसन, डिग्रीको विश्वसनीयता, अन्तर्राष्ट्रिय मान्यता, शैक्षिक प्रतिष्ठा तथा अध्ययन पूरा गरेका विद्यार्थीले रोजगार बजारमा पाएको अवसर र स्वीकार्यतालाई आधार बनाउन आग्रह गरेको हो।
आइप्यान अध्यक्ष लक्ष्मण केसीले शिक्षा मन्त्रालयको अनुमतिमा सञ्चालन भइरहेका विदेशी विश्वविद्यालयसम्बद्ध कार्यक्रम कुनै पनि बेला कानुनी आधारबिना बन्द हुन सक्ने भन्ने दाबी गलत भएको बताए। उनका अनुसार शिक्षा ऐन, २०२८ को दफा १९ अन्तर्गत जारी ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ ले यस्ता कार्यक्रमको सञ्चालन तथा नियमनसम्बन्धी व्यवस्था गरेको छ।
केसीका अनुसार नेपालमा हाल सात देशका ३५ विदेशी विश्वविद्यालयसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। ती कार्यक्रम सञ्चालनको अनुमति पाएका ५८ संस्थामा ३७ हजार २०८ विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए।
उनले नेपालमा सूचना प्रविधि (आईटी) शिक्षाको विस्तारमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजहरूको महत्वपूर्ण भूमिका रहेको दाबी गरे। एआई एन्ड मेसिन लर्निङ, बिग डेटा एनालाइसिस, साइबर सेक्युरिटी, नेटवर्क सेक्युरिटी, होटल तथा हस्पिटालिटी म्यानेजमेन्ट, इन्टेरियर डिजाइन, उद्यमशीलता, मल्टिमिडिया तथा एनिमेसनलगायतका विषय नेपालमै अध्यापन सुरु गर्ने काममा यस्ता संस्थाहरू अगाडि रहेको उनको भनाइ छ।
विदेश अध्ययनतर्फ विद्यार्थीको बढ्दो आकर्षणलाई उल्लेख गर्दै केसीले नेपालमै अन्तर्राष्ट्रिय बजारमा आवश्यक विषय अध्ययन गर्ने अवसर विस्तार भएपछि दक्ष जनशक्ति स्वदेशमै उत्पादन हुने वातावरण बनेको बताए। यसले विद्यार्थीलाई ठूलो लगानी गरेर विदेशमा अध्ययन गर्नुपर्ने अवस्थासमेत क्रमशः कम गर्न सहयोग पुग्ने उनको तर्क छ। विदेशी विश्वविद्यालयसम्बद्ध कार्यक्रमको गुणस्तरबारे प्रश्न उठिरहेका बेला शिक्षा मन्त्रालयले विज्ञसहितको टोलीमार्फत सम्बन्धित संस्थाको स्थलगत अनुगमन गर्दै आएको आइप्यानले जनाएको छ। सम्बन्धन दिने विदेशी विश्वविद्यालयले समेत पाठ्यक्रम, शैक्षिक मापदण्ड निर्धारण गर्नुका साथै साझेदार कलेजको नियमित अनुगमन गर्ने अध्यक्ष केसीले बताए।
आइप्यानले कुनै शैक्षिक संस्थाले अनियमितता गरेको प्रमाण भेटिए नियामक निकायबाट छानबिन गरी आवश्यक कारबाही गर्नसमेत आग्रह गरेको छ। त्यस्तै, अनुमति प्राप्त संस्था तथा कार्यक्रमको अद्यावधिक सूची सार्वजनिक गर्न, शैक्षिक गुणस्तर परीक्षणका मापदण्ड स्पष्ट पार्न र विद्यार्थीका गुनासा सम्बोधन गर्ने प्रक्रिया प्रभावकारी बनाउन आइप्यानले माग गरेको छ।
विदेशी विश्वविद्यालयसम्बद्ध शिक्षण संस्थाको संख्या र विद्यार्थीको सहभागिता बढ्दै गएको अवस्थामा नियमन, गुणस्तर, मान्यता र विद्यार्थी हितलाई केन्द्रमा राखेर स्पष्ट मापदण्डसहित सार्वजनिक सूचना उपलब्ध गराउनुपर्ने आवश्यकता आइप्यानले औँल्याएको छ।