बुधवार, आश्विन ६ २०७८
कर्णाली- लामो समयदेखि तालाबन्दिका कारण अस्तब्यत रहेको मध्यपश्चिम विश्वविद्यालयले आन्दोलनरत प्राध्यापक सङ्गठनलाई वार्तामा आउन अनुरोध सहित अल्टिमेटम दिएको छ ।
विश्वविद्यालयले तालाबन्दीका कारण विद्यार्थी सङ्गठनसँग भएका सहमति कार्यान्वयन गर्न, एघारौँ सभासम्बन्धी तयारी गर्न, बजेट निकासा र खर्चको प्रक्रिया एवं दैनिक प्रशासनिक कार्यसञ्चालन गर्न अवरोध पुगेको भन्दै अल्टिमेटम दिएको हो।
यस अघि विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय वार्ता समिति र प्राध्यापक सङ्गठनबीच पटक–पटक वार्ता भए पनि सहमति हुनसकेको छैन ।
विश्वविद्यालयले निष्काशित गरेका दुई प्राध्यापकलाई पुनःवहालीको माग गरी प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन र आंशिक प्राध्यापक सङ्गठन आन्दोलित छन् । विश्वविद्यालयले आज साँझसम्म वार्तामा नआए आफैँ ताला खोल्ने चेतावनी दिएको छ ।
रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “लामो समयसम्म तालाबन्दीको अवस्थामा राख्न नसकिने हुँदा लगाइएको ताला खोली विश्वविद्यालय प्रशासन दैनिक कार्यसम्पादन गर्न बाध्य हुने अवगत गराउँदै विश्वविद्यालयमा देखिएका समस्यालाई वार्ता र सहमतिबाट समाधान गर्न विश्वविद्यालय नेतृत्व सदैव तयार छ ।”
आन्दोलनरत पक्षलाई बिश्वबिद्धालयले बार्तामा आउन दिएको अल्टिमेटम सहित सूचना यस्तो छ।
