सोमवार, माघ १० २०७८
काठमाडौं, चिकित्सा शिक्षा आयोगद्वारा संचालित एमडि/एमएस प्रवेश परीक्षामा नक्कली परिक्षार्थीलाइ प्रहरिले पक्राउ गरेको छ। सेटिङ मिलाएर परीक्षा दिने तीन जनालाइ फरक फरक सेन्टर बाट प्रहरीले पक्राउ गरेको हो।
परीक्षामा अमर्यादित कार्य गर्न प्रयास गरेका दुई परीक्षा केन्द्रका तीनजनालाई आयोग र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त प्रयासमा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुरोध गरिएको आयोगले जनाएको छ।
पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश गोण्डा ठेगाना भएका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, भारत बिहार सिक्टा ठेगाना भएका ३४ वर्षीय शशि भूषण सिंह र भारत बिहार खगरिया ठेगाना भएका ३२ वर्षीय कृष्ण मुरारी रहेका छन् ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले नक्कली परिक्षार्थी जितेन्द्र र बिचौलियाको रुपमा नक्कली परिक्षर्थीलाई सहयोग गर्ने शशि भुषणलाई काठमाडौं महानगरपालिका-८ एलआरआई स्कुल कलंकीबाट र परिक्षामा अमर्यादित कार्य गर्ने कृष्ण मुरारीलाई नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानोभर्याङ काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरूउपर शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
यद्यपि चिकित्सा शिक्षा आयोगले भने परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक सूचना तथा जानकारीबाट पर्नसक्ने गम्भीर असरप्रति सम्बन्धित सबैलाई सजग रहन अनुरोध गर्दै बिज्ञप्ति जारी गरेको छ।
आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगबाट स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा यही माघ ८ र ९ गने काठमाडौं उपत्यकासहितका देशका अन्य चार स्थानका परीक्षा केन्द्रमा मर्यादित र व्यवस्थितरूपमा सम्पन्न भएको बताएको छ।
केही सामाजिक सञ्जाल र सञ्चार माध्यममा परीक्षाको प्रश्नपत्र बाहिरिएको लगायतका तथ्यहीन र भ्रामक प्रचार प्रसार भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगका सदस्य सचिव डा. भोजराज शर्मा काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
आयोगले प्रश्नपत्रको गोपनीयता र व्यवस्थापनमा सुरक्षा मापदण्ड पूर्णरूमा पालना गरिएको उल्लेख गर्दै आजको परीक्षा पनि पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने जानकारी गराएको छ।