आइतवार, बैशाख ३० २०८१
बैशाख , ३० गते काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र तहको नियमित/आंशिक सेमेस्टर परीक्षाको परीक्षा तालिका प्रकाशित गरेको छ । जेठ ३१ गतेदेखि सञ्चालन हुने परीक्षाको तालिका सार्वजनिक गरेको हो।
सिटिइभिटी अन्तर्गत आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षालयहरूमा डिप्लोमा इन इन्जिनियरिङ, फुड एन्ड डेरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेन्ट र सोसियल वर्क्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट कार्यक्रमहरूको तेस्रो वर्ष प्रथम खण्डको नियमित/आंशिक परीक्षा र डिप्लोमा इन बायोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङ कार्यक्रमको प्रथम वर्ष प्रथम खण्ड र दोस्रो वर्ष प्रथम खण्डको नियमित/आंशिक परीक्षाहरूको तालिका प्रकाशित गरेको हो ।
साथै प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम, लोपोन्मुख जाति तथा भूकम्प प्रभावित ) अन्तर्गत डिप्लोमा इन इन्जिनियरिङतर्फ अध्ययन गरेका विभिन्न कार्यक्रमहरूको तेस्रो वर्ष प्रथम खण्डका र डिप्लोमा इन एग्रिकल्चर ( बाली विज्ञान र पशु विज्ञान) डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ (स्पेसलाइजेसन इन हाइड्रोपावर), डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इन्जिनियरिङ कार्यक्रमहरूको प्रथम वर्ष दोस्रो खण्डको नियमित परीक्षाहरू समेत सोही तालिकामा उल्लिखित मिति र समयमा परीक्षा सञ्चालन हुने जनाएको छ ।
परीक्षा तालिका www.ctevtexam.org.np मा हेर्न सकिनेछ ।

