आइतवार, जेठ ५ २०८२
जेठ, ४ गते/ काठमाडौ। मोटो रकम असुलेर नक्कली डकुमेन्ट बनाउने अपराधिक कार्य गरेको भन्दै सीटीईभीटीका सहायक निर्देशकलाई नेकपा बहुमतको विद्यार्थी संगठनले कालोमोसो दलेको छ। अखिल (क्रान्तिकारी) बहुमत मधेश प्रदेश समितिले CTEVT का सहायक निर्देशक तथा बिपि कोइराला प्राबिधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेललाई कालोमोसो दलेको हो।
अखिल (क्रान्तिकारी) ले गोविन्द पौडेललाई तुरुन्त पदमुक्त गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायहरू समक्ष माग गरेको छ। साथै यदि पौडेलले गरेको कार्यलाई ढाकछोप या प्रशासनिक चालबाजीबाट उन्मुक्ति दिने प्रयास गरियो भने, बाध्य भएर अझ कडा कदम चाल्ले क्रान्तिकारीले चेतावनी दिएको छ।
साथै, ‘सिटिइभिटी शुद्धिकरण अभियान’ अन्तर्गत सिटिइभिटीभित्र रहेका दलाल, माफिया र बिचौलियाहरूको पहिचान गरी चरणबद्ध रूपमा पर्दाफास र कारबाही प्रक्रिया निरन्तर, अविच्छिन्न र सशक्त रूपमा अगाडि बढाइरहेको क्रान्तिकारीले जानकारी दिएको छ।
१. फेल भएका विद्यार्थीहरूलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभका लागि बिक्री गर्ने आपराधिक कार्यमा संलग्न भएको ।
२. परीक्षा, मूल्यांकन र प्रमाणपत्र वितरण प्रक्रियामा व्यापक घूस लेनदेन र कमिसन चलखेल गर्दै संस्थाको गरिमा र विश्वसनीयता समाप्त पार्ने गरेकोले ।
३. कानुनी प्रक्रिया र योग्यता नहेरी, आर्थिक लेनदेनको आधारमा कर्मचारी नियुक्ति गर्ने गरेको ।
४. शैक्षिक माफियासँग साँठगाँठ गरी संस्थालाई निजी स्वार्थपूर्ति गर्ने माध्यम बनाउने गरेको ।
५. विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्ने गैरजिम्मेवार र अपराधजन्य गतिविधि गरेको ।
६. सांस्कृतिक र नैतिक रूपले पतनशील व्यवहार र सार्वजनिक पदको मर्यादाविपरीत आचरण भएको ।
७. सम्पूर्ण शैक्षिक संस्थाको गरिमा, मर्यादा र विश्वसनीयतामाथि गम्भीर आघात पुर्याउने कार्य गरेको ।