बुधवार, आश्विन १ २०८२
सत्य राम कासिछ्वा, असोज १ गते/ काठमाडौँ । विश्वमा देशहरुको अस्तित्व नभएको समयमा नै नेपाल राज्यको अस्तित्व रहिआएको छ । नेपाल शिवभूमि देश हो । हिन्दू धर्म अनुसार, नेपाललाई शिवको प्रिय देश तथा पवित्र भूमि मानिन्छ । नेपाल भगवान् शिवको वासस्थान भएकोले यहाँ धेरै प्राचीन शिव मन्दिरहरू रहेका छन्। त्यसैले त नेपाललाई सनातन हिन्दु राज्य भनिन्छ ।
विश्वका प्रमुख चार धामहरूमध्ये (चार धाम: केदारनाथ, अमरनाथ, काशी, र पशुपतिनाथ) काठमाडौंमा अवस्थित प्रमुख पवित्र स्थल पशुपतिनाथको दर्शनको लागि विश्वका लाखौं हिन्दु भक्तहरू वार्षिक रूपमा यहाँ दर्शन गर्न आउँछन् । गोसाइँकुण्ड, जसलाई शिवजीको आँसुबाट बनेको ताल भनिन्छ। यसको प्रचारप्रसारले पर्यटन उद्योगको विकासमा टेवा पुग्दछ ।
नेपालमा रहेको अद्वितीय विशेषता
नेपाल प्रकृतिको अनुपम उपहार हो। यसको सौन्दर्यले संसारभरका पर्यटकहरूलाई आकर्षित गर्छ। नेपालमा रहेकोे सगरमाथा (विश्वकै सर्वोच्च शिखर) लगायतका आठ हजार मिटरभन्दा अग्ला ८ वटा हिमालहरू यहीँ छन् । यहाँ हरियाली पहाड, जंगल, खोला, र प्राकृतिक निकुञ्जहरूले भरिपूर्ण छ । सांस्कृतिक, जातीय विविधता, भाषा र परम्पराहरूको सुन्दर समायोजनले यो देश विश्वकै उदाहरणीय सुन्दर शान्त देश भनी कहलिएको छ ।
साथै विश्वमै अद्वितीय हावापानी भएको देशमा रहेका पर्यटकीय स्थलहरू पोखरा, लुम्बिनी, चितवन, मुस्ताङ, रारा आदि देखाउँदै नेपालले मनग्ये विदेशी मुद्रा आर्जन गर्ने प्रशस्त सम्भावना छ । नेपालको पहिचान शान्तिप्रिय राष्ट्रको रूपमा गरिएको छ। विश्व शान्तिको सन्देश फैलाउने गौतम बुद्धको जन्मभूमि लुम्बिनी नेपालमै रहेको छ । साथै गैरसैन्य नीति अन्तर्राष्ट्रिय मामिलामा नेपालले सधैं शान्तिपूर्ण दृष्टिकोण राख्दै आएको छ।
नेपालको सामाजिक विशेषता
हिन्दु, बौद्ध, मुस्लिम, किराँत, इसाई आदि धर्महरू बीच सहअस्तित्वको व्यवहारिकतामा धार्मिक सहिष्णुताले विश्वका जनताको लागि मानव सभ्यता अध्ययनमा रुचि देखाउँछ । शान्त वातावरण ग्रामीण क्षेत्रहरूमा अझै शुद्ध हावा, हरियाली, र शान्त जीवनशैली पाइन्छ। जुन विश्व पर्यटनका लागि आकर्षक बन्न सक्छ । यसका लागि नयाँ पुस्तामा "सुन्दर शान्त नेपाल" भन्ने देशभक्ति भावनाले देशमै श्रम र उत्पादन गर्न लगनशील हुनुपर्छ । यसले विश्वमा नेपालप्रतिको मायाको अभिव्यक्ति, गौरवको अनुभूति, र पहिचानको गर्व गर्न लायक हुन्छ ।
नेपालमा बहुभाषिक, बहुजातीय र बहुधार्मिक स्वतन्त्र समाज रहेको छ। सबै जात र धर्मका मानिसहरू समान अधिकारसहित बसोबास गर्न पाउँछन्। "हामी वीर छौं, हामी स्वतन्त्र छौं, हामी स्वाभिमानी नेपाली हौं।"
नेपाल एउटा प्राचीन संस्कृति र सभ्यताको धरोहर हो। यहाँ प्राचीन ऋषिमुनिहरू, योगीहरू, तान्त्रिक साधकहरू, र दर्शनशास्त्रीहरू जन्मिएका थिए वा साधनामा रमाएका थिए।
ऋषिमुनिहरूले वेद, उपनिषद् र अन्य ग्रन्थहरू रचना गर्दछन् ।नेपालमा ध्यान, योग, तन्त्रमा पारंगत व्यक्तिहरू पनि प्रशस्त छन् । नेपाललाई कहिलेकाहीँ "साधु-सन्त र ज्ञानको भूमि" पनि भन्ने गरिन्छ ।
स्वाधीन नेपाल
विश्व इतिहासमा आत्मनिर्भरता, स्वतन्त्रता र गौरवशाली इतिहासको प्रतीकको रूपमा नेपाल रहेको छ । नेपाल हालसम्म कुनैपनि बाह्य शक्तिको अधीनमा नरहँदा पूर्ण स्वतन्त्र देश हो । नेपाललाई सधैं बाह्य हस्तक्षेप अस्वीकार नगर्ने स्वतन्त्रता प्रेमी राष्ट्रको रूपमा चिनिन्छ। पशुपतिनाथ अर्थात् देशभक्त जनताको उपस्थितिले विश्वका शक्तिशाली देशहरूले नेपाल कब्जा गर्न सकिरहेको छैन ।
कहिल्यै उपनिवेश नबनेको राष्ट्र
नेपाल संसारका थोरै मुलुकहरूमध्ये एक हो जुन कहिल्यै पनि कुनै विदेशी शक्तिको उपनिवेश बनेन। छिमेकी राष्ट्र भारतमा हस्तक्षेप गरि साम्राज्य स्थापित गरेका अंग्रेज शासनको बेलामा पनि वीर गोर्खालीहरूले आफ्नो देशको रक्षा गरे। पृथ्वीनारायण शाहको एकीकरण अभियानबाट सुरु भएको यो देश नेपाल शक्ति, बुद्धि, र स्वाभिमानको प्रतीक बनेको छ । नेपालीहरूको एकआपसमा मेलमिलापको संस्कार र पशुपतिनाथको आशिर्वादमा अंग्रेज नेपाली युद्ध (१८१४- १८१६) मा देशभक्त नेपाली युवा सेनाले अद्वितीय साहस देखायो।
नेपालको राजनीतिक स्वाधीनता
चाैतारिया तथा नेपालको प्रथम प्रधानमन्त्री भीमसेन थापाको मृत्युपछि जंगबहादुर राणाले १९०३ मा जहानियाँ निरंकुश शासन लादेका थिए । सोही समयमा राणाहरुले जनताको जीवनलाई सरल बनाउने भन्दा पनि आफ्नो स्वार्थ अनुरुप गतिविधि गरिरह्यो । यसक्रममा १९९७ देखि राणा विरोधी आन्दोलनमा धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ तथा दशरथ चन्द जस्ता युवाहरुले ठूलो सकृयता देखाए । फलस्वरूप १०४ वर्षपछि राणा शासन अन्त्यसहित २००७ मा पहिलोपटक प्रजातन्त्रको उदय भयो ।
पञ्चायत विरुद्धको २०४६ सालको प्रजातान्त्रिक आन्दोलन, राजाको निरंकुशताको विरुद्ध २०६२/६३ को जनआन्दोलन यी सबैमा युवाहरूको सकृयताले संविधानसभाबाट २०७२ मा संविधानसहित जनताको अधिकार स्थापना गरेका थिए । तर नेताहरूले आफ्नो स्वार्थ अनुरुप गणतन्त्र संघीयता जस्ता व्यवस्थाको धारा उपधारा नीतिनियम बनाउने र भत्काउने गतिविधिमा सकृय हुँदा आम सर्वसाधारण जनताको जीवनमा कुनैपनि प्रकारको अवस्थामा परिवर्तन भएन । दिनप्रतिदिन जनताको जीवन कष्टकर अवस्थामा पुग्यो ।
नेताहरूको चरम भ्रष्टाचार, तिनीहरूको परिवारले अपनाउने विलासी जीवनशैली तथा अस्थिर राजनीतिमा जनताको आक्रोश प्रदर्शन होला र जनताले प्रचारप्रसारको माध्यमबाट थाहा पाउँछ भनेर सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाउँदा सर्वसाधारणदेखि १९९७ देखि २०१२ सम्म जन्मेका नयाँ जेन जी पुस्ताको सामान्य दैनिक जीवन नै अस्तव्यस्तताले काठमाडौं केन्द्रित आन्दोलन एकैदिन देशभर फैलिएको थियोे । जसमा एकैदिन १९ जना युवाहरूले ज्यानको आहुति दिनुपर्यो । फलस्वरूप २०८२ भदौ २४ गते जेन जी पुस्ताहरुको विध्वंसबाट बहुमत प्राप्त सरकारले देशको बागडोर युवालाई दिनुपर्ने अवस्था आयो ।
नयाँ पुस्ता जेन जी हरुको आन्दोलनमा घुसपैठ गरेर भएपनि आफ्ना असन्तुष्टि स्वरुप उक्त विध्वंसले भ्रष्टाचारको विरोध, सुशासन, नातावाद कृपावादको अन्त्यको लागि व्यवस्था नै बदलि दिएको छ । यसक्रममा २०३६ साल र माओवादी द्वन्द्वको समयमा जस्तै सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्री कार्यालय, विभिन्न पार्टी कार्यालय, कारागार, सार्वजनिक शाैचालय, स्काउट कार्यालय, प्रहरी कार्यालय, प्रशासन कार्यालय, नगरपालिका भवन जस्ता अन्य सार्वजनिक सम्पत्ति खरानी भएको अवस्था छ । राष्ट्रलाई कर छलेर करोडौं अरबाैं सम्पत्ति जोडेका पुँजीपतिहरुको लगानी रहेको स्कुल, होटल, सुपरमार्केटमा समेत आगजनीले क्षति पुगेको देखिन्छ ।
नेपालीहरु अरु भन्दा बढी शिक्षित, विवेकी, नैतिकता सम्पन्न नागरिकहरू छन्। त्यसैले ज्ञान, विज्ञान, प्राविधिक सीप र रचनात्मक सोचलाई महत्व दिइन्छ। यहाँ नीति निर्माण गर्दा ऐतिहासिक अनुभवको ज्ञानमा आधारित निर्णयहरू गरिन्छ।
तैपनि सरकार सर्वसाधारण जनताको लागि आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य जस्ता माैलिक अधिकार संविधानअनुसार निःशुल्क दिन आनाकानी र कन्जुस्याइँ गरिरहेको छ । आफ्नै आसेपासे नजिककालाई सुविधा दिन लालायित भएकोे देखिन्छ ।
यस्तो अवस्थामा हिन्दू धर्ममा, भगवान शिवको तेस्रो आँखा उनको निधारको बीचमा देखाइन्छ । तर यो सामान्य आँखाजस्तो हेर्न वा देख्नकै लागि होइन। यसलाई ज्ञान, दृष्टि, र विनाश को प्रतीक मानिन्छ । जब भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्छन्, तब त्यो सत्य देख्ने दृष्टि हो र न्यायको लागि विनाश ल्याउने शक्तिको रूपमा अब युवालाई लिनुपर्छ । त्यसकै उदाहरणकाे रूपमा जेनजी पुस्ताको उदय भएको हो ।
युवा शक्ति भगवान शिवको तेस्रो आँखाको रूपमा लिनुपर्छ । जसले सत्य र असत्य छुट्याउन सक्छ, छल–कपट देख्न सक्छ, सत्य, न्याय, वा सहनशीलताको सीमा नाघेपछि विनाशसहित सकारात्मक परिवर्तनको लागि युवाको आँखाबाट अग्नि निस्कन्छ भन्ने मान्यता राख्नुपर्छ । यसैको उदाहरण भर्खरै नयाँ पुस्ता जेनजीको आन्दोलनलाई लिनुपर्छ । शिवको तेस्रो आँखा झैं युवाले देश तथा समाजमा भएका युद्ध, गरिबी, रोग, भ्रष्टाचार, प्राकृतिक विपत्ति, अत्यन्तै कष्टकर, जीवनमा निरन्तर संघर्ष सबै दुष्टता, विश्वासघात, अधर्म, अन्याय, अत्याचार शासकको अहंकार आदिलाई नष्ट गरिदिन्छन् । यसले संविधानको मर्ममाथि प्रहारसँगै भ्रष्टाचार, दण्डहीनता, राज्यसत्ताको दुरुपयोग, अहंकारी शासनको बागडोरमा मूर्खता, अन्धविश्वासको पराकाष्ठाले नयाँ ज्ञान, विवेक र पारदर्शिताको शासन हुन्छ ।
जब जात, धर्म, वर्ग, विचार फरक भए पनि सबै जनता एउटै लक्ष्यका लागि एउटै स्वरमा बोल्छन् । जस्तै: भ्रष्टाचार तथा अनियमितताको विरुद्ध, वैदेशिक हस्तक्षेपको विरुद्ध राष्ट्रियता जोगाउने, आन्दोलनहरूमा शान्तिपूर्ण एकता, साझा आवाज उठाउने, सहयोग र सद्भावमा युवाहरूको जमातले दीर्घकालीन परिवर्तनलाई सम्भव बनाईदिन्छ ।
यसर्थ शासकहरुबाट निम्तिएको भ्रष्टाचार, अन्याय, बेरोजगारी, अत्याचार तथा अनियमितताको विरुद्ध, वैदेशिक हस्तक्षेपको विरुद्ध राष्ट्रियता जोगाउने आन्दोलनहरूमा युवाहरूले प्रदर्शन गर्ने शक्ति भगवान् शिवको तेस्रो आँखा झै हुने हुँदा सबै ध्वस्त अवश्य हुन्छ । साथै तिनै युवाबाट दीर्घकालीन पूर्णनिर्माण तथा विकास पनि सम्भव हुन्छ ।