Aug 13 2026 | २०८३, श्रावण २८ गते

शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न, तीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत

शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न, तीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत

  • 345
    SHARES

  • शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न, तीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत

    काठमाडौं, ६ जेठ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक बुधबार सम्पन्न भएको छ। बैठकले शिक्षा क्षेत्रको गुणस्तर सुधार तथा प्रशासनिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित तीनवटा नयाँ सेवाकालीन तालिम पाठ्यक्रम स्वीकृत गरेको छ।

    बैठकबाट ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ तथा ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी र प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ स्वीकृत गरिएको हो।

    शिक्षा नियमावली, २०५९ को नियम ७२ अनुसार गठन भएको परिषद्ले शिक्षक, शिक्षा मन्त्रालय अन्तर्गतका कर्मचारी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि, नीति निर्माण र व्यवस्थापनमा काम गर्दै आएको छ।

    मन्त्रालयका अनुसार, शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम कार्यान्वयनमा आएपछि प्रशिक्षकहरूको दक्षता वृद्धि भई शिक्षकहरूको पेसागत विकासका लागि सञ्चालन हुने तालिम अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

    त्यस्तै, प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिमले विद्यालयमा प्रभावकारी शैक्षिक नेतृत्व विकास गर्न मद्दत पुग्ने तथा विद्यालयको शैक्षिक र प्रशासनिक गुणस्तर सुधारमा योगदान दिने विश्वास गरिएको छ। यसैगरी, शिक्षा सेवाका राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारी तथा प्राविधिक सहायकहरूका लागि स्वीकृत सेवाकालीन तालिम पाठ्यक्रमले सङ्घीय शासन प्रणालीअनुसार जनशक्तिको क्षमता विकास गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ।

    नयाँ तालिम पाठ्यक्रम स्वीकृतिसँगै शिक्षा क्षेत्रमा जनशक्ति विकास, नेतृत्व क्षमता विस्तार र सेवा प्रवाह सुधारतर्फ महत्वपूर्ण कदम चालिएको रूपमा यसलाई हेरिएको छ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार